देश

मन्त्री अधिकारीको स्पष्टीकरण – अडियो मेरो हैन, बदनाम गर्न खोजियो

काठमाडौं । ३२ लाख घुस प्रकरणमा विवादमा तानिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै अडियो आफूसँग कुनै सरोकार नभएको दाबी गरेका छन्। उनले यो सबै नियोजित रूपमा आफ्नो चरित्रहत्या गर्न गरिएको प्रयास भएको आरोपसमेत लगाए।

मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले भने, अडियोमा सुनिएको बोली, नाम र प्रसंग मेरा होइनन्, न त मन्त्रालयसँग कुनै सम्बन्ध छ। मैले केही बोलेको छैन भन्ने कुरा अडियो सुन्दा आफैँ स्पष्ट हुन्छ।

अधिकारीका अनुसार उक्त अडियो सार्वजनिक हुनुको कारण मालपोत अधिकृतको सरुवा नमान्नु हो। कसैले आफ्नो योजना सफल नहुँदा बदला लिन अडियोको सहारा लिए, उनले भने, यो शुद्धरूपमा चरित्र हत्या गर्ने प्रयास हो।

यद्यपि मन्त्री अधिकारीले अडियोमा नाम उल्लेख भएका अन्य व्यक्तिहरूको भूमिका र अडियोको सत्यता विषयमा थप प्रस्ट पारेनन्। उनले केवल आफू निर्दोष भएको जिकिर गर्दै संवाददाता सम्मेलन टुंग्याए।

तर, आलोचकहरू भने यसलाई साधारण ‘स्पष्टीकरण’ मात्र मानेका छैनन्। राजनीतिक वृत्तमा प्रश्न उठिरहेको छ – यदि अडियो नक्कली हो भने, त्यसको फरेन्सिक परीक्षण किन गरिँदैन ?र यदि केही पनि सम्बन्ध छैन भने, सम्बद्ध नामहरू यत्तिका सहजसँग किन दोहोरिँदै छन्? मन्त्रीको सफाइपछि अब जनताको नजर अनुसन्धान र सरकारको नैतिक जवाफदेहितर्फ केन्द्रित हुनेछ। आरोप गम्भीर छन् – अनि उत्तर पनि यथेष्ट मागिन्छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *