काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाखको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। अडियोमा गुप्ता र बिचौलियाबीच मालपोत अधिकृतको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि लेनदेनको कुरा खुलेपछि तीव्र आलोचना बढेको थियो।
गुप्ताले अडियो आफ्नो नभएको दाबी गर्दै आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सोधपुछपछि राजीनामा दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, भन्दै आफू निर्दोष भएको दाबी गरे । सो विषयमा संघीय संसदको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले भ्रष्ट्राचार प्रकरणमा जोडिएका मन्त्री र विचौलियाहरुलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सत्ता तथा प्रतिपक्षका सांसदहरुले भ्रष्ट्राचारविरोधी कार्यमा सरकार तिव्र गतिमा अघि बढन आग्रह गर्दै आएका छन् ।
अब प्रश्न उठेको छ — उक्त अडियोमा उल्लेख भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अब राजीनामा देलान कि के गर्लान ? गुप्ताले अडियोमै अधिकारीले पैसा खाइसकेको दाबी गरेपछि उनी पनि विवादमा मुछिएका छन्। मन्त्री अधिकारीले भने संसदमा आफू निर्दोष रहेको दाबी गर्दै प्रमाण भए कानुनी कारबाही भोग्न तयार रहेको बताए। तर अहिलेसम्म सो प्रकरणमा जोडिएका उनलाई सरकारले पदबाट राजिनामा दिन निर्देशन नदिएको बुझिएको छ ।
अडियोमा पोखराका सुजन लामा र एमाले नेता खेमबहादुर पुनको नाम पनि उल्लेख छ। जग्गा कारोबारमा संलग्न लामा र पुनले आफूहरू निर्दोष रहेको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्। यो घुस काण्ड ओली नेतृत्वको सरकारका लागि नैतिक परीक्षा बनेको छ। एक मन्त्रीले राजीनामा दिएपछि अब प्रधानमन्त्रीले अर्का विवादित मन्त्री अधिकारीमाथि के कदम चाल्नेछन् भन्ने चासो सर्वत्र बढेको छ।
अब राजीनामा मात्रै पर्याप्त होला त? कि अख्तियारको अनुसन्धान र कारबाहीले मात्रै सत्यतथ्य पत्ता लगाउनेछरु जनता जवाफको प्रतीक्षामा छन्। सो घुस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी समेत मुछिएको राजीनामा दिएका मन्त्री गुप्ताले बताएका छन् । उनका अनुसार मन्त्री चौधरीले बा्रम्बार आफ्ना मान्छेको सरुवा बढुवाका लागि दबाब दिदैँ आएकी थिइन् । सो घटनामा पनि सोहि दिन बिहान सरुवा बढुवाको विषय लिएर मन्त्रि गुप्तालाई भेटेकी थिइन् । मन्त्री गुप्ताले सरुवा बढुवाका विषयमा आफूले निर्णय गर्न नसक्ने बताएपछि अडियो सार्वजनिक भएको बताएका छन् । सो विषयमा मन्त्री गुप्ताले आफ्नो फेसबुक वालमा सार्वजनिक गरेका छन् ।
मन्त्रीले नै यसरी मन्त्रीमाथि बारम्बार आफ्ना मान्छेको सरुवा, बढुवा र नियुक्तिका लागि मन्त्रिको क्वाटर धाउने र दबाब दिएर आफ्नो स्वार्थ पुरा नभएपछि विवाद बाहिर सार्वजनिक गर्ने गरेकाले मन्त्री चौधरीमाथि समेत अनुसन्धान गर्न आवश्यक देखिन्छ । तर अध्यक्ष चौधरीले घुस प्रकरणमा आफू र आफ्नो पार्टीसँग कुनै सरोकार नभएको दाबी गरेकी छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तप्रति दृढ प्रतिबद्ध छ। आधारहीन समाचारमार्फत पार्टी र मेरो चरित्रहत्या गर्न खोजिएको छ।’ उनले आफू कारबाहीबाट बच्न हत्तारमा विज्ञप्ती सार्वजनिक गरेको बुझिएको छ ।




