काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । घूस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धानका लागि मार्ग खुलोस् भनेर पद त्याग गरेको बताए । “सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान सहज होस् भनेर मैले राजीनामा दिएको हुँ”, गुप्ताले भने ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घूस डिल भएको अडिओ सार्वजनिक भएपछि उनको राजीनामाको माग चुलिएको थियो ।
प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा मन्त्री गुप्तालाई बोलाएर अडिओबारे सोधपुछ गरेका थिए । त्यसपछि मंगलबार उनले राजीनामा दिएका हुन् ।
गुप्ताले आजसम्म आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै पार्टीले आगामी दिनमा दिने जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न विपक्षी दल मात्र होइन, सत्तारूढ दलभित्रैबाट समेत दबाव परेको थियो। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले प्रधानमन्त्रीलाई गुप्तालाई हटाउन आग्रह गरेका थिए। एमालेकै नेता डा. राजन भट्टराई लगायतले पनि गुप्ताको बर्खास्तीको माग गरेका थिए।
गुप्ता एमालेका प्रतिनिधिसभा सदस्य र पार्टीका केन्द्रीय सदस्यसमेत हुन्।





