काठमाडौं । सरकारले असार महिनामा प्रधानमन्त्रीसहित छ मन्त्री तथा उच्च अधिकारीको विदेश भ्रमण स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम र फोरममा सहभागी हुने उद्देश्यले उक्त भ्रमण स्वीकृत गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली असार १६ देखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। त्यस्तै, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल असार १३–१५ मा टर्कीमा हुने ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा सहभागी हुनेछन्।
खेलकुद मन्त्री तेजुलाल चौधरी दुबईमा असार ३–४ मा आयोजना हुने एशिया–ओसनिया रिजन इन्टर–गभर्मेन्टल मिटिङ एण्टी–डोपिङ कार्यक्रममा सहभागी हुँदै छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ असार २३–२७ मा स्वीजरल्यान्डको जेनेभामा हुने वर्ल्ड समिट अन द इन्फरमेसन सोसाइटी मा सहभागी हुनेछन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि असार ९–१३ मा थाइल्याण्डको बैंककमा हुने थर्ड मिनिस्टरियल कन्फरेन्स अन सिभिल रजिस्ट्रेसन एण्ड भाइटल स्टाटिस्टिक्स कार्यक्रममा जान लागेका छन्।
यसबाहेक, असार ९–१० मा भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १६औँ बैठकका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। एकै महिनामा उच्च स्तरका यत्रा हुनु सरकारको कूटनीतिक सक्रियता बढ्दै गएको संकेतको रूपमा हेरिएको छ।






