काठमाडौं । चिनियाँ कम्पनी गेजुवा ग्रुपले जाजरकोट र रुकुम पश्चिममा पर्ने भेरी–१ अर्धजलाशय जलविद्युत् आयोजनामा झन्डै ७२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले २७० मेगावाट क्षमताको आयोजना निर्माणका लागि “गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल” नामक सहायक कम्पनी पनि दर्ता गरिसकेको छ।
उत्पादन लक्ष्य र स्थान : भेरी–१ आयोजना सञ्चालनमा आएपछि वार्षिक एक अर्ब ५६ करोड युनिटभन्दा बढी विद्युत् उत्पादन हुने लक्ष्य लिइएको छ। सुक्खा समयमा ४७ करोड र वर्षायाममा एक अर्ब नौ करोड युनिट ऊर्जा उत्पादन हुने बताइएको छ। आयोजना जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा निर्माण हुने प्रस्ताव छ।
प्राविधिक विवरण
जलाशय क्षेत्रफलः ५५७१ वर्गकिलोमिटर
सुरुङको लम्बाइः ७ किलोमिटर
विद्युत्गृह :संरचनाबाहिर निर्माण प्रस्ताव
सञ्चालनः दैनिक ६ घण्टा पूर्ण क्षमतामा
गेजुवा ग्रुप नेपालमा विवादरहित छैन। यसअघि सरकारले बुढीगण्डकी आयोजना सिधै यसैलाई दिएको थियो, तर विरोधपछि परियोजना फिर्ता लिएको थियो। माथिल्लो त्रिशूली ‘ए’ को क्षमतावृद्धिमा लबिङ गरेको, र महंगो चमेलिया आयोजना निर्माणको आलोचना पनि भोगेको छ।
हाल गेजुवाले परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकेको छ, र मन्त्रालयले जनमत सङ्कलनका लागि राय मागेको छ।




