देश

बालेनको समितिमा संयोजक तोक्ने निर्णय तीन वडाध्यक्षद्धारा अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चार वटा विषयगत समितिमा गरेका संयोजक तोकाइको निर्णयलाई तीन जना वडाध्यक्षहरूले अस्वीकार गरेका छन्। ती वडाध्यक्षहरूले कार्यपालिकाको बैठकबाट अनुमोदन नहुनु औंल्याउँदै आफूहरू जिम्मेवारी नस्वीकार्ने जानकारी पत्रमार्फत दिएका हुन्।

मेयर बालेनले सुशासन समितिको संयोजकमा वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिमा वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, र सम्पदा तथा पर्यटन समितिमा वडा नं. २४ का अध्यक्ष विनोद राजभण्डारीलाई तोकेका थिए।

तर ती सबै वडाध्यक्षहरूले संविधान र नियमावलीअनुसार कार्यपालिका बैठकबाट निर्णय अनुमोदन नहुनु नै प्रमुख कारण भएको जनाएका छन्। वडाध्यक्ष राजभण्डारीले भने, प्रक्रियागत रूपमा संयोजक तोकिएको छैन, कार्यपालिका बैठक २०८१ पुस १० यता बसेकै छैन।

वडाध्यक्षहरूले संयुक्त रूपमा मेयरलाई लेखेको पत्रमा, कार्यपालिकाको बैठकबाट अनुमोदन नहुँदासम्म तोकिएका जिम्मेवारी स्वीकृत गर्न नसकिने स्पष्ट पारिएको छ। उनीहरूले कार्यपालिका बैठक बोलाएर विधि अनुसार संयोजक जिम्मेवारी दिनुपर्ने मागसमेत गरेका छन्।

बालेनले गत बिहीबार चार वटा समितिमा संयोजक फेरबदल गरेका थिए। विधायन समितिको संयोजक परिवर्तनबारे भने असहमति सार्वजनिक भएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *