काठमाडौँ। नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायल सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित स्वागत समारोहमा राजदूत बासले उक्त प्रतिबद्धता जनाएका हुन्।
आतङ्कवादी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ अध्ययनरत १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उक्त हमलामा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरूका परिवारलाई निरन्तर सहयोग हुने बताए।
“इजरायलले आतङ्कवादबाट प्रभावित नेपाली विद्यार्थीका परिवारलाई आर्थिक र नैतिक सहयोग प्रदान गर्दै आएको छ, त्यो निरन्तर रहने छ। नेपालीसहित हमासको आक्रमणबाट पीडित भएका सबैहरूसँग ऐक्यबद्धताका साथ इजरायल उभिएको छ,” उनले भने।
बहुआयामिक नेपाल–इजरायल सम्बन्धबारे चर्चा गर्दै राजदूत बासले नेपालको शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षा लगायतका क्षेत्रमा दुई देशबीच पारस्परिक सहकार्य हुँदै आएको बताए।
उनले चार हजारभन्दा बढी नेपालीले इजरायलका कृषि तथा शैक्षिक केन्द्रबाट तालिम लिएको, नेपालको कृषि आधुनिकीकरण र आर्थिक विकासमा इजरायल सरकारबाट विशेष सहयोग रहेको जानकारी दिए। आगामी दिनमा सूचना तथा सञ्चार र साइबर प्रविधिका क्षेत्रमा पनि बहुपक्षीय सहयोग विस्तार गर्न इजरायल सरकार तत्पर रहेको उनले बताए।
इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको दोहो¥याउँदै राजदूत बासले मध्यपूर्वमा दिगो शान्ति कायम गर्नु आफ्नो मुलुकको एकमात्र लक्ष्य भएको बताए।



