
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको कदर गर्दै ललितपुर महानगरपालिकाले जोशीको अर्धकद शालिक अनावरण गरेको छ। ललितपुर महानगरपालिका प्राङ्गणमा आज बिहान आयोजित विशेष समारोहमा महानगर प्रमुख चिरिबाबु महर्जनले उक्त शालिकको अनावरण गरे।
जोशीको १०६औँ जन्म जयन्तीको अवसर पारेर अनावरण गरिएको यो शालिकले उनको भाषा, साहित्य, संस्कृति र कलामा पुर्याएको योगदानलाई सदैव सम्झाइरहने विश्वास व्यक्त गरिएको छ। स्वर्गीय जोशी मुलुककै सांस्कृतिक गहना हुनुहुन्थ्यो प्रमुख महर्जनले भने, उनको सम्झनामा निर्माण गरिएको यो शालिक महानगरको गौरव हो ।
कार्यक्रमको क्रममा महर्जनले झनाख्य पार्कमा पाँचौं शालिक निर्माण नगर्ने निर्णय पनि सुनाए। ूचारवटा शालिक निर्माण भइसकेको छ, अब थप नयाँ शालिक बनाइने छैन,उनले स्पष्ट पारे।
२०७९ असोज ३० गते १०३ वर्षको उमेरमा जोशीको निधन भएको थियो। उनको इच्छाअनुसार र परिवारको सहमतिमा उनको शरीर किष्ट मेडिकल कलेजलाई अध्ययन र अनुसन्धानका लागि दान गरिएको थियो। यो कदमले जोशीको समाजप्रतिको योगदानलाई झन् विशेष बनाएको महर्जनले उल्लेख गरे।
जोशीले नेपाली भाषा, साहित्य र संस्कृति संरक्षणमा पुर्याएको योगदान अमूल्य रहेको भन्दै कार्यक्रममा सहभागीहरूले उनको योगदानको प्रशंसा गरे। नेपाली मौलिक संस्कृतिका अमूल्य दस्तावेजहरू संकलन गरेर जोशीले भावी पुस्तालाई अमूल्य सम्पदा हस्तान्तरण गरेको स्मरण गरिएको थियो।