काठमाडौँ। ‘सङ्घीय निजामती सेवाको सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’ कम्तीमा दुई वर्ष हुनुपर्ने सुझाव नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दिएका छन्।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल गर्दै प्रमुख सचेतक पाण्डेले ‘कुलिङ पिरियड’ नराख्दा विशिष्ट श्रेणीका कर्मचारीहरू कार्यकाल पूरा नहुँदै राजीनामा दिने क्रम बढेको र यसले नागरिकलाई प्रदान गरिने सेवा प्रभावित भएको बताए। उनले अतिरिक्त सचिवको पदलाई यसअघि खारेज गरिसकिएको पनि स्मरण गराए।
नेपाली कांग्रेसका सांसद एवं समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित उपसमितिले विधेयकलाई अन्तिम रूप दिई गत चैत २० गते समितिमा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमाथिको छलफलमा सांसद हृदयराम थानीले कानुन निर्माण गर्दा कसैलाई पनि विभेद हुनेगरी बनाउन नहुनेमा जोड दिए। उनले ‘कुलिङ पिरियड’ एक वर्ष प्रस्ताव गरिएकोमा दुई वर्ष नै राख्न किन नहुने भन्दै प्रश्न गरे।
सांसद दुर्गा राईले सरकारी जागिरका लागि पुरुषको उमेर हद ३५ वर्ष कायम गर्दा महिलाको हकमा ४० वर्ष नै कायम राख्नुपर्ने माग गरिन्। उनले विधेयकमा महिलाको उमेर एक वर्ष घटाइनुको कारण माग गर्दै यस विषयमा पुनर्विचार गर्न आग्रह गरिन्।
नेकपा (एमाले) का सांसद रघुजी पन्तले अतिरिक्त सचिवको पद राख्न नहुने धारणा व्यक्त गरे। उनले यो पद नराख्दा कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको र फेरि राखिएमा राज्यलाई थप आर्थिक भार पर्ने बताए। एघारौँ र बाह्रौँ तह हुँदाहुँदै अतिरिक्त सचिवको पद आवश्यक नभएको उनको भनाइ थियो।




