देश

प्रधानमन्त्रीको निष्क्रियतामाथि महामन्त्री थापाको प्रहार: “बिँड तातेर हुँदैन, ताप्के ताप्नुपर्छ”

रूपन्देही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संघीयता अपेक्षित रूपले सञ्चालनमा नआएको बताएका छन्। रूपन्देहीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता अहिले ‘टाउकोले टेकेर उभिएको’ अवस्था रहेको उल्लेख गर्दै यसलाई ‘खुट्टाले टेकेर उभिने’ बनाउनु कांग्रेसको चुनौती भएको बताए।

महामन्त्री थापाले जनतासँगको संवादका क्रममा संघीय संरचना, निर्वाचन प्रणाली तथा जनप्रतिनिधिको संख्या जस्ता विषयमा लगातार प्रश्न उठ्ने गरेको बताए।उनले भने, “हामी यो व्यवस्थालाई सुधार गर्न चाहन्छौं। जनतासँग कुराकानी गर्दा निर्वाचन प्रणाली, जनप्रतिनिधिको संख्या अत्याधिक भएको गुनासो सुन्छौं। संघीयता नेपालको लागि उपयुक्त छ, तर हामी त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न चुकेका छौं।”

थापाले वर्तमान सरकारको कामको गति पनि अपेक्षित नदेखिएको आरोप लगाए। उनले जनताको पक्षमा काम गर्न आफूहरू तयार भए पनि प्रधानमन्त्रीको सक्रियता कमजोर रहेको टिप्पणी गरे।”प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमै सीमित छन्। हामी सरकारलाई सहयोग गरिरहेका छौं, तर परिणाममुखी कामको अभावमा असन्तुष्टि पनि जनाइरहेका छौं,” उनले भने।

प्रधानमन्त्रीप्रति संकेत गर्दै उनले थपे, “बिँड तातेर मात्र हुँदैन, ताप्के पनि ताप्नुपर्छ। ताप्के भनेको प्रधानमन्त्री हो। म सुझाव दिइरहेको छु, झकझकाइरहेको छु, सहयोग गरिरहेको छु। तर परिणामको जिम्मेवारी सरकार प्रमुखसँग हुनुपर्छ।”

थापाले पछिल्लोपटक शिक्षकहरू आन्दोलनमा उत्रिनु परेको विषयमा पनि सरकारको कमजोरी देखिएको बताए। “सरकारले समयमा ठोस कदम चालेको भए, शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था आउने थिएन। अहिले पनि केही बिग्रिएको छैन। उनीहरूको जायज माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्काउने पहल गर्नुपर्छ,” उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *