काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा हुन आदेश दिएसँगै सोही रकम बुझाए लामिछाने रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ । रवि लामिछानेको हस्ताक्षरबाट ८१४ वटा चेक कारोबार भएको देखिएको, उनको खातामा रकम जम्मा हुने र त्यहाँबाट अन्यत्र रकम जाने गरेको देखिएको अदालतले आदेशमा उल्लेख गरिएकोृ छ ।
सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य समेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैङ्क खाताको ट्रान्जेक्सन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएपनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु ६५ लाख बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा कारागार कार्यालय कास्कीमा पठाइदिनु ।’
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहकारी ठगीका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार हाललाई कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको भन्दै जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले बिहीबार जारी गरेको आदेशमा प्रतिवादी लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८१४ वटा चेकहरूको कारोबार भएको, उनी गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति भएको, गोर्खा मिडियामा जानुअघि र कम्पनीबाट अलग भएपश्चात पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको, प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने गरेको लगायतका आधार मानेर लामिछानेविरुद्ध सो रकममा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
त्यस्तै, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गितेन्द्रबाबु राईको बैंक खाताबाट रवि लामिछानेको खाता हुँदै गोर्खा मिडिया नेटवर्कमा लगानी भएको देखिएको आदेशमा उल्लेख छ । आदेशमा अगाडि लेखिएको छ, सहकारीको रकम निज प्रतिवादी (लामिछाने)को खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग पनि त्यो देखिएको छ ।






