राजनीति

क्रियाशील सदस्यताबारे जानकारीका लागि कांग्रेसका तीन नेतालाई सात प्रदेशको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बारेमा प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी प्रदान गरेको छ । बिहीबार कांग्रेसले सदस्यता व्यवस्थापन समितिको बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी प्रदान गरेको हो ।

बागमती र गण्डकीका लागि गुरुङ, मधेश र र लुम्बिनी रसाइली र कोशी कर्णाली र सुदूरपश्चिमका लागि चौधरीलाई खटाइएको छ । जिम्मेवारी पाएका नेताले सदस्यता वितरणको समस्या पहिल्याउने छन् । नयाँ र नवीकरणको फर्म उपल्लो तहले तल नपाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने गरी छलफल भएको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए । जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरु तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको भेटिएको अवस्था केन्द्रले हस्तक्षेप गर्ने रसाइलीले बताए । पार्टीभित्रको गुटका कारणले सदस्यता वितरण र नवीकरण रोकिएको भए केन्द्रले नै सिधै तल पठाउने नीति लिने रसाइलीले जानकारी गराए ।

महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनेको छ । कात्तिकमा गठन भएको समितिको यस विचमा दुईपटक बैठक बसेको छ । समितिले क्रियाशील सदस्यताको विवाद र समस्या मुख्य गरी मधेसमा रहेको जनाएको छ ।कांग्रेसको विधान अनुसार महाधिवेशन हुने वर्ष नयाँ सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ । १४ औं महाधिवेशनमा कांग्रेसका आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *