राजनीति

गृहमन्त्रीले भारतीय एसएसबी महानिर्देशकलाई भने – दुई देशको राष्ट्रिय सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणमा जोड दिऔँ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिए ।

गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।

नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह समेत गरे । “ नेपाल–भारतबिच सदियौँ पुरानो सम्बन्ध रहेको छ ।” गृहमन्त्री लेखकले भने–“ सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबिचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु ।” भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एएसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *