राजनीति

कांग्रेसका सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित

काठमाडौं। कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

अन्य तर्फबाट उमेद्वार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका उद्धव पौडेललाई पराजित गरेका हुन् ।

२ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फ भने सिटौलाले अग्रता हासिल गरेपछि विजयी भएका हुन् ।

सिटौलाले कुल ५ हजार २९२ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पौडेलले ४ हजार ५६२ मतभार प्राप्त गरेका छन् ।

कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

सत्ता गठबन्धनले महिला सिट गुमाएको छ भने नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई गठबन्धनकै दुई सांसदले मत दिएनन् ।

महिलातर्फ एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *