देश

ढोरपाटनका मेयर नेपालीविरूद्व ‘रेड नोटिस’ जारी, पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरूद्ध रेड नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको हो । नेपालीविरूद्व रेड नोटिस जारी गर्न नेपाल प्रहरीको एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा पत्र पठाएको थियो ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलको सदस्य राष्ट्रहरू १९५ देशका प्रहरीले नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउने बाटो खुलेको छ । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा दुई अर्ब अपचलन गरेको पाइएको छ।

सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन्। उनले सहकारीको पैसाबाट ४४ ठाउँमा जग्गा किनेको तथ्य खुलेको छ । ढोरपाटनका मेयर नेपाली माओवादी पृष्ठभूमिका हुन्। माओवादीले २०७४ को स्थानीय निर्वाचनमा ढोरपाटनको मेयर उम्मेदवार नबनाएपछि उनी एमालेमा प्रवेश गरेर मेयरको टिकट पाएका थिए।

त्यतिबेला मेयर जितेका नेपाली गत वर्ष भएको स्थानीय निर्वाचनमा एमालेकै तर्फबाट दोस्रोपटक ढोरपाटनको मेयर जितेका थिए। सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार नेपालीलाई एमालेले निलम्बन गरेको छ। उनी एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्। सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएपछि नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *