काठमाडौं । राष्ट्रिय सभाका १९ सांसदका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै रातिसम्म नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
मतगणना सुरु भएको तीन चार घन्टामै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ । प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेशसभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले निर्वाचनमा गठबन्धन गरेका छन् । एमाले र राप्रपाले कोशी प्रदेशमा मात्र तालमेल गरेका छन् । अन्य प्रदेशमा भने सत्ता गठबन्धन, एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुँदैछ । यदि भोट क्रस भएन भने १९ सिट नै गठबन्धनले जित्ने निश्चित छ । विजयी सांसद फागुन २० पछि मात्र संसद् छिर्नेछन् ।




