काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणयता यूरोपमा रुसी तेलको आपूर्ति ठप्प भएको छ । यूरोपभर बिजुली बचाउन मितव्ययीता अपनाइएको छ । बिजुली र ऊर्जा महँगो बनेको छ ।
जर्मनीमा मूल्य अकासिँदा व्यवसाय चलाउन कठिन भएपछि केही कम्पनी सञ्चालकहरू व्यवसाय त्यहाँबाट अन्तै सार्नेसम्मको सोचमा पुगेका छन् । सीएनबीसीलाई जर्मन उद्योग महासंघका प्रमुख सेइगफ्रेड रुसवर्मले यस्तो बताएका हुन् ।
खासगरी परिवारको स्वामित्वमा भएका कम्पनीहरूले पलायनको योजना बनाइरहेको उनको भनाइ छ । मुख्यालय जर्मनीमै भएका कयौं कम्पनीहरूको विश्व बजारमा व्यापार राम्रै छ ।
तर, गृह देशमै उनीहरूलाई सञ्चालनमा समस्या भइरहेको रसवर्म बताउँछन् । अहिले सरकारी कामकाजमा ढिलासुस्तीले पनि अतिरिक्त दबाब थपेको उनको भनाइ छ ।
सन् २०२२ मा यू्रोपभर बिजुली र ग्यासको भाउले कीर्तिमानी उचाइ छोएको थियो । यसले गर्दा पनि मुख्यभूमि यूरोपमा महँगी उच्च स्तरमा बसेको छ ।
महँगो ऊर्जाको मारबाट व्यवसायहरूलाई जोगाउन ऊर्जा धेरै खपत हुने उद्योगहरूलाई जर्मन सरकारले नै करीब ४ अर्ब यूरो सहुलियत भनेर छुट्याउने योजना बनाएको छ । गत अप्रिल १३ मा जर्मन केन्द्रीय बैंकका अध्यक्ष जोआचिम नागेलले देशको ऊर्जा संकट समाधान भइसकेको बताएका थिए ।
विश्व अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले बढ्दा जर्मनीको अर्थतन्त्र गएको त्रैमासमा मन्दीमा गएको छ । एजेन्सी




