खेलकुद

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा कुल एक सय १८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत खराब रह्यो । नेपालले आठ ओभर खेल्दा सुरुआती तीन विकेट गुमाएको थियो । त्यो बेला आठ ओभरको खेल समाप्त भएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

सङ्कटमा परेको नेपालको पारी गुलसन झा र भीम सार्कीले उकासे । दुवै जनाबीच ९६ रनको साझेदारी रह्यो । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । यस्तै सार्कीले ७१ ब्ल खेल्ने क्रममा चार चौका हाने ।

बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।

यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

हिजो यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले हिजोको खेलको निरन्तरता आज भएको हो ।

एशिया कपको समीकरण

एशिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने भनिएको भएपनि भारत र पाकिस्तानबीचको तनावले अहिले अन्योलता देखिएको छ । भारत पाकिस्तानमा खेल्न नजाने र पाकिस्तानी क्रिकेट बोर्डले अन्य देशमा आयोजना गर्न नदिने अडानका कारण अहिले एशिया कप अन्योलमा परेको हो ।

एसीसी प्रिमियर कप सकिएसँगै अब एशिया कपको समीकरण पनि पुरा भएको छ । जस अनुसार समुह ए मा भारत, पाकिस्तानसँगै नेपाल खेल्ने भएको छ भने समुह बि मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *