समाचार

राखेप र क्यानलाई सीआईबीको पत्र

काठमाडौं । नेपाल टी २० क्रिकेट लिगमा म्याच फिक्सिङबारे अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्बन्धित निकायसँग जवाफ माग गरेको छ।

सीआईबीले राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) लाई यसबारे जवाफ माग गरेको हो।

यी दुवै निकायलाई बुधबार साँझ पत्र पठाएको सीआईबी श्रोतले बताएको छ ।

बुधबार दिउँसो क्यानका अध्यक्ष चतुरबहादुर चन्द र पूर्व कप्तान तथा म्यानेजर विनोद दास सीआईबीमा पुगेपछि सीआईबीले उनीहरुसँग सोधपुछ गरेको छ। क्यान अध्यक्ष चन्दले म्याच फिक्सिङबारे आवश्यक अनुसन्धान गरिदिन भन्दै सीआईबीमा निवेदन समेत दिएर फर्किएका छन्।

सीआईबीले अन्य पदाधिकारी र खेलाडीलाई पनि सोधपुछका लागि बोलाएपछि अहिले त्रिविमा जारी नेपाल लिगमा म्याच फिक्सिङको सूचना बाहिर आएपछि अहिले सीआईबीले छानबिन गरिरहेको छ। खेलाडीहरुले नै फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरिसकेका छन्। क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको छ।

उक्त कम्पनीले भारतमा बेटिङ समेत खेलाउने गरेको र त्रिविमा खेल सञ्चालन भइरहँदा पनि बेटिङ खेलाइरहेको अवस्थामा केही व्यक्ति पक्राउ परेका छन्।
सेभेन थ्री स्पोर्टसले लिगको सम्पूर्ण व्यवस्थापन, खेलाडी अनुबन्ध, टेलिभिजन प्रसारण प्रायोजक लगायत सबै व्यवस्थापनको जिम्मा पाएको छ।

ग्लोबल टेण्डरबिनै लिग सुम्पिएको भन्दै क्यान सुरुदेखि नै विवादमा परेको छ। लिग विवादमा परेपछि निर्देशक जटिन अहलुवालिया फरार भइसकेका छन्।
उनी फरार भएको क्यानले समेत चाल पाएको थिएन। खेलाडी प्रारिश्रमिक समेत नपाएपछि लिगमा थप बिबाद परेको छ। अख्तियारमा समेत खेलाडी विना अनुमति भित्र्याएको भन्दै उजुरी परेको छ।

अख्तियारले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ। अख्तियारले क्यानलाई पत्र पठाउँदै जवाफ मागिसकेको छ।
प्रक्रिया छल्दै लिग सञ्चालनको अनुमति दिएको भन्दै सर्वोच्चमा समेत रिट परेको छ। उक्त सर्वोच्चमा मुद्दा विचाराधीन छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *