काठमाडौं । भक्तपुर २ मा हरेक निर्वाचनमा आलोपालो जित्ने गरेको देखिएको छ । एकपटक नेमकिपा अर्कोपटक कांग्रेस, एकपटक कांग्रेस अर्कोपटक एमालेले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । अघिल्लो निर्वाचनमा भक्तपुर २ बाट एमाले नेता महेश बस्नेत विजयी भएका थिए । त्यसअघि कांग्रेसका रामेश्वर ढुंगेलले चुनाव जितेका थिए । तर यसपटक एमालेका बस्नेतलाई कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले कडा टक्कर दिँदै छन् ।
करिब एक लाख मतदाता रहेको यस क्षेत्रमा बस्नेत, क्षत्री र नेमकिपाकी अनुराधा थापामगरसहित २६ जना प्रतिस्पर्धामा छन् । ०७४ को संसदीय निर्वाचनको नतिजा र स्थानीय तहको मत परिणाम हेर्ने हो भने मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन, एमाले र नेमकिपाबीच हुने देखिन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा पनि यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो आमनिर्वाचनमा भक्तपुर २ मा बस्नेतले ६३ हजार एक सय नौ मतमध्ये ३६ हजार चार सय १२ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६८७ मत पाएका थिए । नेमकिपाकी अनुराधा मगरले पाँच हजार ४७१ मत पाएकी थिइन् । त्यसवेला ढुंगानाको अलोकप्रियता रवाम एकताका कारण पनि बस्नेतलाई सहज थियो । अहिले माओवादी केन्द्र कांग्रेसको पक्षमा छ । साथै, एमालेबाट टुक्रिएको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा रहेकाले यसपटक बस्नेतलाई तनाव थपिएको छ ।
भक्तपुर २ मा मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका पर्छ । ठिमीमा स्थानीय चुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत ल्याएर विजयी हुँदा एमालेका मदनसुन्दर जगुलु श्रेष्ठले ११ हजार ३५ मत मात्र ल्याएका थिए । सूर्यविनायकमा पनि एमाले र कांग्रेसबीच ठूलो मतान्तर छैन । एमालेका वासु थापाले १४ हजार सात सय ५८ मतले मेयरमा जित्दा कांग्रेसका निशान ढुंगेलले १३ हजार दुई सय ३२ मत ल्याएका थिए ।
वडाको मतपरिणाम हेर्दा सूर्यविनायकमा १४ हजार पाँच सय १४ मतसहित एमाले अग्रस्थानमा छ भने ११ हजार पाँच सय ७२ मतसहित कांग्रेस दोस्रो स्थान छ । सूर्यविनायकमा कांग्रेस र एमालेबीच मेयरको मत थोरैले फरक रहे पनि मध्यपुर ठिमीका वडाहरूमा भने कांग्रेसको मत धेरै बढी छ । यहाँका नौ वडाका कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ९२ मत ल्याएका थिए । एमालेका वडाध्यक्षहरूको कुल मत नौ हजार सात सय ७२ मत थियो ।
दुई स्थानीय तहमा एमालेले २४ हजार र कांग्रेसले २५ हजारभन्दा बढी मत ल्याएका थिए । यस आधारमा कांग्रेसका थापा कम्फोर्ट जोनमा छन् भने बस्नेत अहिले नै रेडजोनमा छन् । यसमा माओवादी र एकीकृत समाजवादीको मत जोडिएको छैन । त्यसमा पनि कांग्रेसमा अभूतपूर्व एकता छ । कांग्रेस उम्मेदवार थापाले त्यहाँका लोकप्रिय नेता मदनकृष्ण श्रेष्ठलाई साथमा लिएर चुनावी प्रचार तीव्र पारेका छन् ।




