काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव अहिले सत्तारुढ गठबन्धनसँग असन्तुष्ट भएका छन् । छोरा अमरेन्द्र यादव विराटनगरपालिकाको उपमेयरमा हारेपछि उपेन्द्र कांग्रेस र माओवादी केन्द्रसँग आगो भएका छन् ।
कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले सानदार मत ल्याएर जित्ने, तर त्यही गठबन्धनमा रहेका आफ्ना छोरा चाहिँ पराजित हुनुले अन्तर्घात भएको भन्दै उपेन्द्र गठबन्धन टुटाउन सक्रिय भएका छन् । उनले स्थानीय तहको निर्वाचनको सबै नतिजा नआउँदै गठबन्धन बीचमै टुट्ने संकेत गरेका छन् एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेर ।
एमाले अध्यक्ष ओली जुनसुकै हतकण्डा अपनाएर भए पनि अहिलेको गठबन्धन टुटाउन चाहन्छन् । त्यसका लागि उपयुक्त पात्र उपेन्द्र यादव नै हुन् । विगतमा एमालेबाट राजनीति गरेकाले पनि उपेन्द्रलाई अलि सहज छ । तर उपेन्द्र गठबन्धनबाट अलग्गिए पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी भने एकढिक्का रहने सम्भावना प्रबल छ ।
गत बुधबार जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष केपी ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । गठबन्धन दलहरू कांग्रेस, माओवादी केन्द्रलगायत आगामी प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेका बेला जसपा भने एमालेसँग सहकार्य गर्न खोजेको देखिएको छ ।
ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए । गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषीको भएको भनाइ थियो । तर, तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ । ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी पहिलो हुन नसक्नुको कारण अन्तर्घातसँगै पाँच दलीय गठबन्धन पनि भएको बताएका थिए ।
उनी गठबन्धनप्रति निकै आक्रोशित छन् । बारम्बार उनी गठबन्धनलाई देश विकास गर्न भन्दा पनि मागिखानेहरूको गठबन्धन भन्दै टिप्पणी गर्दछन् ।
सोही गठबन्धन टुटाउन ओलीले चाहँदै आएका हुन् । ओली निकट एक पदाधिकारीले भने गठबन्धन आफैं टुट्ने बताए ।
प्रधानमन्त्री छँदा ओलीले दोस्रो पटक ७ जेठ २०७८ मा संसद् विघटन गरेपछि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको हो । गठबन्धन एमालेको राजनीतिक यात्रामा भने हानिकारक भएको छ । परिणामतः सङ्घीय सरकार मात्र होइन, चारवटा प्रदेश सरकार गुमायो भने राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नु परेको छ ।




