स्थानीय तह निर्वाचन-२०७९

एमाले र माओवादीको जोड्दा पनि कांग्रेसले जितेका स्थानीय तह बढी

काठमाडौं । स्थानीय निर्वाचनको अन्तिम परिणाम आउने क्रममा छ । अब पाँच महानगरपालिका, दुई उपमहानगरपालिकाको नतिजा आउन बाँकी छ । जसमा दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी मनोजकुमार साहले अग्रता लिएका छन् । पाँचमध्ये दुई महानगरपालिकामा कांग्रेस, एकमा माओवादी केन्द्र, एकमा एकीकृत समाजवादी र एकमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्म कांग्रेसले तीन सय १८ स्थानीय तहमा जित हात पारेको छ । एमालेले १९८ र माओवादी केन्द्रले १२० स्थानीय जितेका छन् । एमाले र माओवादीको जोड्दा पनि कांग्रेसकै स्थानीय तह बढी छ । अझै कांग्रेसले दुईवटा महानगरमा अग्रता लिइरहेको छ । माओवादी र एमालेले एक–एकवटा स्थानीय तहमा अग्रता लिएका छन् ।

स्थानीय तहको यसपटकको निर्वाचनमा कांग्रेसले ६० प्रतिशतभन्दा बढी स्थानीय तह एक्लै जितेको छ । करिब ४० प्रतिशत स्थानीय तह गठबन्धन गरेर जितेको छ । तर कांग्रेसले अघिल्लो स्थानीय तहमा जितेका झन्डै ७० वटा स्थानीय तहमा पराजित हुनुले आमकांग्रेसीजन दुखित भएका छन् । आफूले जितेका स्थानीय तह गुमाउने र अरुले जितेका स्थानीय तह कांग्रेसले यसपटक जितेको छ ।

यदि गठबन्धन नगरेको भए कांग्रेसको अवस्था कस्तो हुन्थ्यो भन्ने विषयमा पार्टीमा दुईथरी मत देखिएको छ । शेखर कोइराला पक्ष अहिले पनि गठबन्धन नगरेको भए कांग्रेसले अझ बढी सिट जित्ने दाबी गर्छ ।

जबकि मोरङ र झापामा कांग्रेसको अवस्था निकै कमजोर रह्यो । विगतमा कांग्रेसले जितेका सबै स्थानीय तह एमालेले लगेको छ । प्रदेश १ मा भलै कांग्रेस पहिलो पार्टी बनेको छ । तर, एमालेले कांग्रेसका धेरै स्थानीय तह जित्नुले चुनावी समीक्षा गरेर कमीकमजोरी सुधार गर्नुपर्ने आवाज उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *