सम्पादकीय

स्थानीय निर्वाचनले कांग्रेसलाई दिएको सन्देश

स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार कांग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो ।

यसपटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै कांग्रेस पहिलो दल बन्न सफल भएको छ । सात सय ५३ मध्ये कांग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ ।
यसपटक कांग्रेस पाँचदलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो ।

गठबन्धनले देशका दुई सय स्थानीय तहमा मात्र तालमेल गरेका थिए । अन्य स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गरेका थिए । एमाले भने भुरेटाकुरे १० वटा दलसँग तालमेल गरेर चुनावमा होमिएको थियो । एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए । उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरे, ती सबै ठाउँमा एमालेले पराजय बेहोरेको छ ।
यसपटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबीच तालमेल भएको थियो । जसले कांग्रेसलाई धेरै फाइदा पुग्न गयो । भलै कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका केही स्थानीय तह गुमाए पनि अघिल्लो एमालेले जितेका स्थानीय तहको रेकर्डलाई कांग्रेसले यसपटक ब्रेक गरेको छ ।

कांग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले कांग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ । देशकै ठूलो दल बनेर चुनावमा जाँदा कांग्रेस कार्यकर्तामा पनि उत्साह र जोश आउने कुरामा कुनै सन्देह छैन ।

अब नेपाली कांग्रेसले अहिलेको गठबन्धनलाई कायमै गरेर आगामी निर्वाचनमा जानुपर्ने मत देशव्यापी रूपमा स्थानीय तहको नतिजाले देखाएको छ । जहाँ जहाँ गठबन्धन हुनु हुँदैन भनिएको थियो, ती जिल्लामा कांग्रेसले अनपेक्षित हार बेहोरेको छ । जस्तै, चितवन, सिन्धुपाल्चोक, मोरङ र धनुषामा कांग्रेसले उल्लेख्य सफलता हात पार्न सकेन ।

ती जिल्लामा कांग्रेसले पहिले जितेका स्थानीय तह पनि गुमाउनु परेको छ । यसलाई राम्रो पाठ सम्झेर कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी गर्नुपर्ने आमकांग्रेसीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *