राजनीति

स्थानीय निर्वाचनको परिणामपछि ओली रक्षात्मक अवस्थामा

काठमाडौं । स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म नेपाली कांग्रेसले एक सय ८८ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले एक सय १९ स्थानीय जितेको छ ।

कांग्रेसको अग्रता एक सय २५ स्थानीय तहमा छ । एमालेले ९३ स्थानीय तहमा अग्रता हासिल गरेको छ ।
निर्वाचनको दिनसम्म पनि एमाले अध्यक्ष केपी ओलीलगायत सो दलका नेताहरू आफ्नो पार्टीले ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्थे । स्थानीय निर्वाचनको कमान्डर बनेका ओलीले कसैलाई पनि चुनावी सभामा भाषण गर्ने अवसर दिएनन् । जहाँ पनि आफैं पुगे ।

आफ्नो भाषण सुन्न र त्यसबाटै एमालेलाई ह्वार ह्वारती मत खस्ने उनको आकलन थियो । तर, जनताले पत्याइदिएनन् । केन्द्रमा पाँचदलीय गठबन्धन दह्रो साथ एमालेलाई चुनौती दिन सफल रह्यो । गठबन्धन गरेका केही ठाउँमा बाहेक सबैमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी विजयी भए ।
एमालेले विगतमा स्थानीय तह दुई सय ९८ जितेको थियो । त्यसको रवाफ र प्रभाव पनि बाँकी थियो । त्यसैले यसपटक उसले पैसाको बलमा कांग्रेस, माओवादीलगायतका दललाई चुनौती त राम्रै दियो ।

तर सम्रगमा स्थानीय तहमा धेरै ठाउँमा जित हासिल गर्न सकेन । दलगत आधारमा भने एमालेले धेरै मत पाएको छ । कांग्रेसभन्दा उसले झन्डै चार लाख मत बढी पाएको छ ।
अहिलेसम्म चार सयभन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । नतिजा आउँदै गर्दा हिजो दम्भ र अहंकारले फुलेका एमाले अध्यक्ष केपी ओली अहिले गलेका छन् । उनले अहिलेसम्म कतै पनि स्थानीय तहको मतपरिणामबारे सार्वजनिक रूपमा बोलेका छैनन् । उनी बालकोटबाट बाहिर निस्केका समेत छैनन् । तर, स्थानीय चुनावको परिणामले भने उनलाई रक्षात्मक अवस्थामा पुर्याइदिएको छ ।

त्यही भएर नौ महिनादेखि प्रतिनिधिसभामा अवरोध गर्दै आएको एमाले मंगलबारदेखि संसद् अवरोध गर्न डराएको छ । उसले देशको खस्किँदो आर्थिक अवस्थाका कारण संसद् अवरोध कार्यक्रम फिर्ता लिएको दाबी गरे पनि उसलाई त्यसबाट उम्किन स्थानीय चुनावले फेस सेभिङको काम गरेको छ । अब पनि संसद् अवरोध जारी राख्दा आगामी प्रतिनिधिसभा र प्रदेश सभामा जनताले तिरस्कृत गर्ने डरले ओलीले संसद् अवरोध फिर्ता लिएको अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *