विचार

नेताको सहमति, कार्यकर्ताको विमति


स्थानीय निर्वाचन अन्यौल र अनिश्चयमा रहेको शंकेत सत्तारुढ दलहरुबाटै भएकाले होला, सामान्य मानिस पनि ढुक्क भएको देखिदैन । हुन्छ र निर्वाचन ? भन्ने प्रश्न हरेक बोलीमा आउछ । एकातर्फ निर्वाचनको तयारी अर्कोतर्फ आशंकाका बीचमा निर्वाचन सम्पन्न हुनु पर्ने वस्तुगत अवस्था देखिन्छ ।


गठवन्धन गर्ने निर्णय गरेका दलहरुका कार्यकर्ता केन्द्रीय नेतृत्वको स्वार्थ अनुकुलको निर्देशन स्वीकार गर्न तयार छैनन । चितवनबाट सुरु भएको असहमतिको आवज अन्य जिल्लासम्म फैलिएको छ । पर्सा बारा लगायतका तराई मधेशका जिल्लाहरुमा गठवन्धन आवस्यक छैन, दलीय प्रतिश्पर्धामा गएर बहुदलीय व्यवस्थाको स्वास्थ्य प्रतिश्पर्धालाई सबैले स्वीकार गर्नुपर्छ भन्ने दृष्टिकोण र मत शसक्त नै रहेको छ । व्यवस्थापिका संसदको अवस्थालाई हेरेर स्थानीय निर्वाचनमा गठवन्धन आवस्यक होइन भन्ने धारणा राजनीतिक शास्त्री तथा बौद्धिक समुदायबाट सार्वजनिक भएको छ । तर, त्यसलाई स्वीकार गरेर अगाडी बढ्ने मानशिकता देशभरका कांग्रेस कार्यकर्ताको छैन । आफ्नै नेता, कार्यकर्ता तथा आकांक्षी व्यवस्थापन गर्न नसकेको कांग्रेसले कसरी अन्य दलहरुको चित्त बुझउने हो ? धेरै सजिलो देखिदैन । पार्टीभित्र नै सहमत नभएको विषयमा जवरजस्ती निर्णय भएपनि त्यसको परिणाम सुखद र सन्तोषजनक हुने देखिदैन । गठवन्धन वा तालमेल चाहनेहरुको माग पनि स्वभाविक छैन । आफ्नो हैसियतभन्दा धेरै माथि र बढी माग गर्दा तालमेल स्वभाविक नहुने अनुभव स्थानीय नेता कार्यकर्ताको रहेको छ । जिल्ला जिल्लामा भएका प्रयासहरु हैसितभन्दा बढीको आकांक्षा र मागका कारण समाधानमुखी भएनन । यसै पनि असजिलो भइरहेको तालमेल अस्वभाविक मागका कारण समस्याग्रस्त बनेको छ भन्ने स्थानीयको बुझाइ छ ।

गठवन्धन गर्नुपर्ने आधार नै स्पष्ट नभई खास खास नेतृत्वको स्वार्थ पुरा गर्न भएको प्रयासले मुर्तरुप पाउने सम्भावना कमजोर नै देखिन्छ ।


नेपाली कांग्रेसको हकमा त एउटा गम्भीर समस्या पनि देखिन्छ । नेपालमा लोकतान्त्रिक पार्टीको रुपमा विश्वास गरिएको राजनीतिक दलको हैसियतले चित्त बुझ्दा नबुझ्दा पनि नेपाली कांग्रेसलाई मतदान गर्दै आएको लोकतन्त्रवादी मतदाता कांग्रेस नेतृत्वको निर्णय मानेर अन्य कुनै दल वा व्यक्तिको पक्षमा मतदान गर्न तयार छैन । त्यस्तो समूह जसले विगतदेखि नै लोकतन्त्रको पक्षमा आफ्नो अभिमत प्रकट गर्दै आएकोे छ । उसलाई सत्ता, स्वार्थ र शक्तिको कुनै डरत्राश र आस केही छैन । निरन्तर लोकतन्त्रको पक्षमा बोलिरहन्छ, लागिरहन्छ । त्यो वर्गले कांग्रेस नेतृत्वको निर्णय स्वीकार गर्दैन , आफ्नो विबेकको प्रयोग गर्दछ । त्यसकै आधारमा रुख चिन्हमा,त्यहा त्यहा अन्य चिन्हरुमा मतदान गरिस भन्ने विषय वा आग्रहको पालना होला त ? यस्तो निर्णय वा निर्देशनले त कांग्रेसको आफ्नो परम्परागत भोट बैंक पनि गुमाउने जोखिम बढेर जान्छ । राम्रो गर्न नसके पनि खराव त गर्दैनन भन्ने बुझाइ पनि बदल्न बाध्य बनाउने दिशा तर्फको यात्रा कांग्रेसले गर्दै छ । स्थानीय आवस्यकता र चहानामा एकध ठाउँमा हुने तालमेललाई अन्यथा मानिदैन तर यो यो ठाउँमा यसरी गर भन्ने आदेश मान्न लोकतन्त्रप्रति आस्था र विश्वास राख्ने स्वतन्त्रताप्रेमी मतदाता तयार छैनन । यसको गाम्भीर्यतातर्फ कांग्रेसले ध्यान पुर्याउन सकेको छैन । तात्कालीक नाफा घाटालाई मात्र कांग्रेसले हेरेको देखिन्छ । दीर्घकालिन शोच, चिन्त र अवधारणा विकास गर्न चाहाने नीति निर्माण तहमा नभएर हो वा आफ्नो स्वार्थमा बाधक हुने ठानेर हो, यस्तो मत र दृष्टिकोण ज्यादै कमजोर देखिन्छ ।


निर्वाचन मनी र मसल कै कब्जामा जाने आकलन गरिएको सत्य सावित हुदै गएको छ । खुलेआम पैसा जम्मा गर्न भन्ने आदेश एकतर्फ र अर्कोतर्फ टिकट खरिद विक्रीको तयारीले निर्वाचन अस्वस्थ्य र महंगो हुने निश्चित छ । पुराना, त्यागी र इमान्दार व्यक्तिहरुले स्थानीय तहमा नै भएपनि निर्वाचन लडेर काम गर्छु भन्ने इच्छा राख्दा समेत टिकटका लागि खर्चको प्रवन्ध गर्न नसक्ने हुनाले पहिलो चरणबाटै अयोग्य घोषित गरिएका घटनाहरु सार्वजनिक हुन थालेका छन ।

पैसाको स्रोत जुटाउन नसक्ने व्यक्तिले आकांक्षा नै राख्नु हुदैन भन्ने अवधारणाको विकास भएको देखिन्छ । पहिलो प्राथमिकता पार्टीको टिकट खरिद गर्न सक्ने र दोस्रो प्राथमिकिता अधिक खर्च गर्न सक्ने आर्थिक हैसियत र स्रोत भएको व्यक्ति परेको देखियो । यसले निर्वाचन र हामीले अभ्यास गरेको शासन प्रणाली नै वद्नाम गरेको छ । जिल्ला तहमा बसेर काम गरेका केही व्यक्तिहरुले कांग्रेसको अधिवेशनमा नै मोटो रकम लिएर टिममा राख्ने, आफ्नो उम्मेद्वार बनाउने काम गरेका थिए । अहिले वडादेखि पालिकासम्म भागवण्डा लगाएर खरिद विक्री गर्न मिल्ने ठाउँमा खरिद बिक्री गर्ने, नमिल्ने ठाउँमा आफ्नो गुटको अनुचरलाई टिकट दिने तारतम्य मिलाएको गुनासो सुनिएको छ । यसाले राजनीतिलाई भ्रष्टिकरणमात्र होइन अराजनीतिक र अपराधिकरण समेत गरेको छ । नेतृत्वलाई हिजो असजिलो समयमा सँगै जेल बसेको, सहयोग गरेको, पार्टीमा योगदान पुर्याएको इमान्दार र योग्य व्यक्तिभन्दा भ्रष्ट, दला, तस्कर, डन, ठेकेदार र व्यापारी आफ्नो खास मान्छे लाग्न थालेको छ । क्रमशःराजनीति यस्तौ व्यक्तिको कब्जामा गएको छ ।

बैचारिक र शैद्धान्तिक राजनीति पराजित हुने, पैसा र शक्तिको आडमा सत्ता हत्याउने प्रवृत्ति उत्साहित हुने संस्कार र संस्कृतिको विकास सहयोगी बनेको स्वार्थी नेतृत्वले सकारात्मक सन्देस प्रवाह गर्ने किसिमको निर्णय गर्न नै सकेको छैन । कलाई मेरा सन्तानलाई र मेरा अनुचरहरुलाई अनुकुल हुन्छ वा हुदैन ? भन्ने चिन्तनबाट ग्रसित भएर सत्ता कब्जाको अभियान अन्र्तगत हुने गठवन्धन वा तालमेलाई अन्तत शासन प्रणाली र बहुदलीय व्यवस्थालाई नै कमजोर र वद्नाम गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *