रिबन

मुख्य समाचार : गठबन्धनमा रहेका दलले शुरु गरे चुनावको तयारी, एमाले अध्यक्ष ओली पनि देश दौडाहामा

काठमाडौं । सत्तारूढ गठबन्धनले आगामी स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा मंगलबार बिहान बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो । उक्त समितिमा पाँचै दलबाट दुई–दुई जना नेताहरु रहनेछन्। समितिमा रहने अन्य नेताहरुको नाम भने दलहरुले सिफारिस गर्ने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक स्थलमा अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो । तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए ।

काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । वीरगञ्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको तीन वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) बन्दरगाह सञ्चालनमा ल्याएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताएका छन् । ‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाएको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भने, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ ।’

एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर पठाएको छ । बैसाख ३० को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले मौखिक रुपमा सर्कुलर गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेट खेल्न नपाउने भएका छन् । दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा परेका सन्दिपलाई कुनै पनि टिमले बोली नलगाएपछि खेल्न नपाउने भएका हुन् ।

मच्छिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक छनोटबाटै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र क्लव श्रीलंकाको लिग विजेता ब्लू स्टारसँग २–१ गेल अन्तरले पराजित भएको हो । पराजित भएसँगै मच्छिन्द्र छनोटबाट बाहिरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *