काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ।
शुक्रबार संवैधानिक इजलासमा पेशी चढेका रिट हेर्दाहेर्दैमा राखिएको हो। संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट न्यायाधीश हरि फुँयालले जारी गरेको अन्तरिम आदेशका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन।
अधिवक्ता डा.गणेश रेग्मीले दर्ता गरेको रिटमा फुँयालको इजलासले १७ भदौ २०७८ मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो।
प्रधानन्यायाधीशसँग अन्य न्यायाधीश बेन्च शेयर गर्न तयार नभएको र प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न नमिल्ने न्यायाधीश फुँयालको अन्तरिम आदेशपछि रिटको सुनुवाइ अघि बढेको थिएन।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएपछि उनकै अध्यक्षतामा नियमित संवैधानिक इजलास बस्न थालेको छ।
साताको दुई दिन बुधबार र शुक्रबार संवैधानिक इजलास गठन हुने अभ्यास छ।




