अदालत, संसद, सञ्चारमाध्यम र नागरिक समाजलाई शत्रु देख्ने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गन्तव्य कता हो भनेर स्पष्ट हुन जरुरी छ । संसदीय प्रणालीमा यी चारवटै अंग महत्वपूर्ण हुन् । अदालतले आफू अनुकूलको निर्णय गरेन भन्दैमा गालीगलौजमा उत्रिने, महिनौं संसद अवरुद्ध गरेर विधेयकमाथि छलफलको बाटो रोक्ने, आफ्नो पक्षमा समाचार नलेख्ने सञ्चारमाध्यम पित पत्रकारिता हुने र आफ्नो प्रशंसा नगर्ने नागरिक समाजविरुद्ध विष बमन गर्ने अध्यक्ष ओलीको गन्तव्य कहाँ हो भनेर यतिबेला खोज्नुपर्ने भएको छ ।
तानाशाही बन्ने महत्वकांक्ष बोकेका नेताहरु मात्र अदालत, संसद र प्रेसका विरोधी हुन्छन् । अध्यक्ष ओलीको पछिल्लो पटक सार्वजनिक भएका अभिव्यक्ति हेर्नु र सुन्ने हो भने उनी पनि तानाशाही बन्ने महत्वकांक्ष बोकेका नेता हुन् भन्ने अनुमान सहजै लगाउन मिल्छ । स्वतन्त्र न्यायलयप्रति विश्वास नराख्ने, संसदलाई बन्धक बनाइ राख्ने र प्रेस स्वतन्त्रता र नागरिक समाजप्रति जहिले धावा बोल्ने नेताको गन्तव्य के हुन्छ ?
विश्वमा यस्ता धेरै उदाहरण छन्, तानाशाही गन्तव्यमा हिडेका नेताले सबैभन्दा पहिला राज्यका अभिन्न अवयवलाई गिजोल्छ । यसरी गिजोल्छ कि जुन राज्यका लागि आवश्यक नै छैन, त्योभन्दा मैले गरेको काम नै ठीक हो भन्ने भ्रम सर्वसाधारणमा छर्ने सफल हुन्छ । त्यसपछि ऊ आमरण सत्तामा टिक्नलाई जुनसुकै हत्कण्डा अपनाउँछ ।
प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको गतिविधिले यही संकेत गर्छ । सत्ता छोडेपछि प्रधानमन्त्री निवासबाट निजी निवाससम्मको यात्रा,बालकोटको वार्दलीबाट दिएको कुण्ठाग्रस्त अभिव्यक्ति तथा त्यसपछि अध्यक्ष ओलीले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई एकमुष्ठ विश्लेषण गर्ने हो भने सर्वसत्तावादी चिन्तनबाट ग्रसित छन् भन्ने अप्ठ्यारो मान्नु पर्दैन ।
कुनै समय सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गर्दा तत्काली राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष राजेश्वर देवकोटाले सर्वोच्च अदालतमा गोरु ब्यायो भनेका थिए । त्यसबेला उनको यो अभिव्यक्ति निक्कै विवादमा परेको थियो । अहिले तिनै शब्द सापटी लिएर एमाले अध्यक्षले बोलेका छन् । अध्यक्ष ओली प्रमुख प्रतिपक्षी मात्र होइनन, पूर्वप्रधानमन्त्री पनि हुन् । यो कद भएका नेताले यस्तो अभिव्यक्ति दिनु हुन्छ कि हुँदैन भन्ने ख्यालसमेत गरी सार्वजनिक स्थानमा अदालत, प्रेस र नागरिक समाजविरुद्ध बोल्दा उनको गन्तव्य कता हो भनेर सर्वसाधारणले खोज्ने कि नखोज्ने ?




