तनहुँ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिदविक्रम परियारको अर्धकदको सालिक अनावरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु–याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन्।
फरक प्रसंगमा विगतमा सबै कम्युनिस्ट नेता एमसिसीका पक्षमा भए पनि अहिले चीनको इसारामा त्यसको विपक्षमा उभिएको आरोप लगाउँदै उनले एमसिसी नेपालको हितमा रहेको र विद्युत् बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताए।
सोही दलका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए। उनले कांग्रेसलाई संगठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भए मात्रै सबै चुनाव कांग्रेसले जित्ने बताए।




