रिबन

यी चारवटा प्रदेशमा मेघ गर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज बिहान सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *