काठमाडौँ । नेपाल बन्दको आह्वानमा संलग्न २५ जना भन्दा बढीलाई काठमाडौं उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ ।
महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी सुदीप गिरीका अनुसार अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेपाल बन्द गराउन निस्केका बन्दकर्ताको आंशकामा काठमाडौंबाट २५ जना भन्दा बढीलाई पक्राउ गरिएको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका छन् ।
काठमाडाैं उपत्यकामा बन्दकाे प्रभाव परेकाे छैन । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेकाे छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेकाे छ ।
आज प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना छ ।




