काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो । आज पहिलो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
विभिन्न मितिमा केन्द्रीय कार्यसमितिका पदावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पाँच भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्व कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकाले बैठकले त्यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अधिवेशन प्रभावित भएका कांग्रेसका १६ जिल्लाका जिल्ला कार्यसमितिका सम्बन्धमा समेत बैठकले निर्णय गर्ने बताइएको छ ।
यसका साथै स्थानीय तहको निर्वाचनलगायत विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्त रूपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।




