राजनीति

एमसीसी पास गराउनका निमित्त मन्त्रीद्वय खाँण र कार्कीलाई देउवाले दिए यी जिम्मेवारी…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नको लागि आवश्यक पहलकदमी लिएका छन् । उनले यसको लागि एमाले नेतृत्वसँग आफूले पनि छलफल जारी राखेका छन् । तर, यसको साथसाथै आफ्नो विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई देउवाले एमसीसी पास गराउनका निमित्त जिम्मेवारी दिएका छन् ।

गृहमन्त्री खाँणले त हिजैबाट आफूलाई सक्रिय तुल्याएका छन् । पछिल्लो समय उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । उनको छलफल अमेरिकी सहयोग सम्झौता एमसीसी सदनबाट पारित गराउन केन्द्रित रहेको थियो । पछिल्लो समय एमालेले संसद्मा आफ्नो अवरोध कायम राखेको छ । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध हटाउन भन्दै गत पुष २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवासमा पुगेर आग्रह गरेका थिए ।

उक्त छलफलमा संसद्को गतिरोध हटाउनेबारे मात्रै नभएर एमसीसी पास गराउनको लागि पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका थिए । तर, एमालेले भने एमसीसीबारे सरकारको धारणा पहिले आउनुपर्नेमा जोड दिएको छ । एमालेले सत्ता गठबन्धन तोडे कांग्रेस नेतृत्वको सरकारलाई एमसीसी पास गराउन सघाउनेसम्मको वचन दिएको चर्चा चलिरहेको छ ।

यसैबीच प्रधानमन्त्री देउवाले एमसीसीमा सहमति जुटाउन र संसद्को अवरोध हटाउनको लागि सबै पक्षसँग वार्ता तथा छलफल गर्न मन्त्रीद्धय खाँण र कार्कीलाई जिम्मेवारी दिएका छन् । उनीहरु दुवै जना पछिल्लो समय विभिन्न दलका नेताहरुसँग छलफलमा सक्रियताका साथ लागिपरेका छन् । प्रधानमन्त्री देउवा तत्काल एमसीसी संसद्बाट अनुमोदन होस भन्ने चाहन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *