काठमाडौं । छुट्टाछुटै स्थानबाट लागुऔषधमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु, सुनसरी, सुर्खेत, मोरङमा रहेका छन् ।
कपिलवस्तुको बर्गदवाबाट ललितपुर बस्ने ३२ वर्षीय अरुण मोक्तानलाई करिब ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा सवार अरुणलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान शिवधाराबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने २९ वर्षीय भरत मगर समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । संघिय प्रहरी ईकाइ कार्यालय धरान, ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी सो कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।
साथै घटनाको थप अनुसन्धानको क्रममा धरानका २६ वर्षीय जनम मगरलाई करिब ४ ग्राम, २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगरलाई करिब ७ ग्राम गरी थप ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, सुर्खेतको भेरीगंगा रत्न राजमार्गबाट नियन्त्रित लागूऔषध ८ सय ८५ ट्याब्लेट नाईट्राभेट र १ हजार दरका ९ थान नक्कली नेपाली नोट सहित २६ वर्षीय आसिस बैगार समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनीहरूको साथबाट उक्त लागूऔषध र नक्कली नोट फेला पारी पक्राउ गरेको हो । मोरङको जहदा हरीनगराबाट करिब ५६ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानबाट भारततर्फ गाँजा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा लोड भएको ४ वटा बोरा सोही स्थानमा छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
हाल फरार रहेका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




