काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक सुदेश पराजुलीले देशलाई आघात हुने कुनैपनि सन्धि सम्तौता गर्ने छुट गठबन्धनलाई नभएको बताएका छन् ।
देशलाई हानि हुने आर्थिक सहयोग लिनका लागि गठबन्धनको कुनै एक दलको ह्वीप मान्नु पर्छ भन्ने नरहेको बताउँदै पराजुलीले राष्ट्रिय हित विपरीत आएको सहयोग नेपालीका लागि किमार्थ स्वीकार्य नहुने बताएका हुन् ।
‘हाम्रो देशलाई आघात हुने कुनै पनि सन्धि सम्झौता गर्ने छुट यो गठबन्धनलाई छैन । देशलाई हानि हुने कुनै पनि आर्थिक सहयोग लिनु पर्छ सम्झौता गर्नु पर्छ, संसदबाट पास गर्नु पर्छ भन्ने ह्विप गठबन्धन दलभित्र कुनै एक दलले गर्न पाउदैन र सक्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यसैगरी अहिलेको सरकार कांग्रेसको एकल सरकार नभएकाले दलीय सहमतिमा बनेको सरकारले अधिकतम सहमतिको पालना गर्नु पर्ने उनले बताएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा दवाब बढाएपछि यो विषय बहसको विषय बनेको छ ।
गत शनिबारको गठबन्धन बैठकमा देउवाले एमसीसी पास गराउनका लागि आफू गठबन्धन नै तोड्न पनि तयार रहेको अभिव्यक्ति दिएका थिए ।
सत्तारुढ ५ दलीय गटबन्धनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसीको पक्षमा रहेका छन् भने नेकपा (एस)र माओवादी केन्द्र यथास्थितिमा कुनैपनि बहानामा एमसीसी स्वीकार गर्न नहुने पक्षमा रहेका छन् ।
त्यसैगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्नमा आफूले सघाउने वचन दिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउनु पर्ने सर्त राख्दै ओलीले देउवासँग च्याँखे थापिरहेका छन् ।




