काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त रहेका २० मूलुकमा राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढाउने तयारी थालेका छन् ।
उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चाँडो भन्दा चाँडो आफ्नो पार्टीबाट सहभागी हुने राजदूतको नाम सिफारिसका लागि आग्रह गरेका छन् ।
अहिले चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रिया राजदूत विहिन अवस्थामा रहेको छ ।
रिक्त रहेका २० मूलुकमध्ये १४ जना राजनीतिक कोटाबाट र ६ जना परराष्ट्र सेवाबाट नियुक्त गर्न लागिएको हो ।
सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जसपाबीच राजदूत नियुक्तिमा भागबण्डा हुनेछ।
सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा पनि राजदूत नियुक्ति प्रक्रिया चाँडो टुंग्याउनका लागि गठबन्धनका शीर्ष नेताबीच छुट्टै छलफल भएको स्रोतले बताएको छ ।
माओवादी केन्द्रको कोटामा चीन, अस्ट्रेलिया, डेनमार्क र म्यानमारमा राजदूत सिफारिस गर्ने तयारी रहेको छ ।
साथै माओवादी केन्द्रबाट राजदूत सिफारिसका लागि लीलामणि पौड्याल, रुपक सापकोटा, विष्णुपुकार श्रेष्ठ, लक्की शेर्पा र महेशराज दाहाल लगायतको नाम चर्चामा रहेको छ ।
त्यसैगरी, नेकपा (एस) को भागमा जापान, श्रीलंकासहित ३ देश रहेका छन् । नेकपा (एस) मा अहिले मिलनराज तुलाधर र डा.युवराज संग्रौलालगायतको नाम चर्चामा रहेको छ ।
कांग्रेसको कोटामा प्रभु बुढाथोकी, अरुणकुमार सुवेदी, चोपलाल भुसाल र रमेश कोइराला लगायतको नाम चर्चामा छ।
जसपाको कोटामा दक्षिण कोरिया, साउदी अरब र ओमानका लागि राजदूत सिफारिस हुने स्रोतको भनाइ छ।
त्यसैगरी परराष्ट्र सेवाबाट पनि राजदूत नियुक्तिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
परराष्ट्र सेवाबाट सहसचिवहरु निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, लोकबहादुर थापा, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्यालको नाम चर्चामा छ।




