राजनीति

सहिदहरुको विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न निर्देशन दिएका छन् ।

आइतबार सहिद दिवसको अवसरमा सहिद स्तम्भ लौनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अगाडि बढाउनका लागि निर्देशन दिएका हुन् ।

‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा सहिद भएका सबै सहिदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु,’ देउवाले भने ।

सरकारले सहिदहरुका योगदानलाई चिरस्थायी बनाउनका लागि उनीहरुको परिवारलाई सहयोग तथा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने उनले बताएका छन् ।

सहिदहरुको सपना अनुसार सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने देउवाले बताए ।

त्यसैगरी देशको अवको बाटो आर्थिक रुपान्तरण र सुशासन भएकाले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *