काठमाडौं। नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवमरीको पराकाष्ठा नाघेको टिप्पणी गरेका छन् ।
ओली कोरोना संक्रिमत भएकै अवस्थामा सार्वजनिक कार्यक्रममा नेता–कार्यकर्तामाझ देखिएपछि शर्माले आलोचना गरेका हुन्।
ओलीलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक गरिएको थियो। ओली कोरोना संक्रमण भएको चौथो दिनमै बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।
महामन्त्री शर्माले कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नु सबैको जिम्मेवारी भएको पनि एमाले अध्यक्ष ओलीलाई स्मरण गराएका छन्।
‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो’, उनले ट्विटरमा लेखेका छन्, ‘पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाडसमेत हो।’
कांग्रेस महामन्त्री शर्माले आफू कोरोना संक्रमित भएपछि आइसोलेसनमा बसेर निको भएपछि सांगठनिक काममा फर्किएको पनि उल्लेख गरेका छन्।
‘यही ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले लेखेका छन्।




