संकल्पखबर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको पार्टीभित्र नै सम्बन्ध चिसिन थालेको छ ।
जसपामा देखिएको विवादको कारण पार्टी विभाजन हुन सक्ने आकंलन सहजै गर्न सकिन्छ । पार्टी विभाजनबाट फाईदा हुने आसमा लोसपाका नेताहरू बकुल्लाले माछा ढुकेझैँ बसेका छन् ।
लोसाका अध्यक्ष महन्थ ठाकुर पक्षका थुप्रै नेताहरू जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका थिए, तीमध्ये अधिकांश नेताहरू अहिले असन्तुष्ट छन् । सो असन्तुष्टिको फाइदा लोसपाले लिने तयारीमा देखिन्छन् ।
लोसपाका एकजना कार्यकारिणी सदस्यले पत्रकारहरुसंगको कुराकानीमा भने, ‘हामीलाई छाडेर उपेन्द्र यादवलाई साथ दिनुभएका कतिपय नेताहरू अहिले पछुतो मानीरहनु भएको छ । तर कानुनी प्रावधानका कारण उहाँहरू फर्किन सकिरहनु भएको छैन ।’
महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, अमृता अग्रहरी, राम नरेश यादव, रमेश यादव, गज्जाधर यादव, प्रमोद साह, नरमाया ढकाल, नवलकिशोर साह, सुरेश मण्डल, विक्की यादव, रानी मण्डल, रेणुका गुरुङ, रुही नाज, मनिष सुमन, डा.रिना यादव, नीरा कुमारी साह लगायतले महन्थ ठाकुरको पक्ष छाडेर जसपामा गएका थिए।
यीमध्ये अधिकांशको सम्पर्कमा लोसपाका शीर्ष नेताहरू रहेका छन् । लोसपाका सांसद एवं कार्यकारिणी सदस्य विमल श्रीवास्तवले यताको नेता उता, उताको नेता यता आउनु, जाउनु मधेसवादी दलका लागि कुनै नौलो कुरा नरहेको बताउँछन् ।
‘नेता तथा कार्यकर्ता यति नै हो, यताउति भइरहन्छन्, तर जसपामा विवाद भएपछि त्यसको फाइदा लोसपालाई हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन,’ उनले भने, ‘केही असन्तुष्ट आउन सक्लान् तर त्यसले के हुन्छ, केही हुँदैन, आयाराम गयाराम जस्तो हुन्छ ।’
जसपामा केही असन्तुष्ट सांसद छन् तर उनीहरू सांसद पद जाने डरले कतै जाँदैनन्, चुनाव आउन अझै बाँकी छ । त्यसमाथि चुनाव हुन्छ कि हुँदैन, ठेगान छैन ।
त्यसैले कुनै दलमा असन्तुष्ट भएकाहरू आफ्नो पार्टीमा आउँछन् र त्यसले पार्टी बलियो बनाउँछु भन्ने सोच्नु मनको लड्डु घिउसित खानु बराबर रहेको उनले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले हालै राम नरेश राय यादवलाई मधेस प्रदेशको मन्त्री पदबाट हटाएपछि उनी असन्तुष्ट छन् । उनी लोसपाका वरिष्ठ नेताहरूसँगको सम्पर्कमा छन् ।त्यस्तै, अमृता अग्रहरीलाई मन्त्री बनाउने प्रतिबद्धता उपेन्द्र यादवले व्यक्त गरे पनि नबनाएपछि उनी असन्तुष्ट छिन् ।
उनी पार्टी कार्यालय पनि जान छाडेकी छिन् । त्यसको फाइदा लोसपाका नेताहरूले उठाउने कोसिसमा छन् । अमृता अग्रहरी नेपाल सद्भावना पार्टीकी पुराना नेतृ हुन् । लोसपामा राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलालकर्णलगायतका नेताहरू पनि नेपाल सद्भावना पार्टीका हुन् । उनीहरू अग्रहरिसँग निरन्तर सम्पर्कमा छन् ।
लोसपाका एक जना कार्यकारिणी समिति सदस्यका अनुसार सांसद गुम्ने डर नभएको भए अग्रहरी लोसपामा प्रवेश गरिसक्थिन् । त्यस्तै, नरमाया ढकाल, रानी मण्डल, रुही नाज, डा।रिना यादव, विक्की यादवसँग पनि लोसपाले सम्पर्क सूत्र बढाएको छ ।
अहिले जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको बीचमा आन्तरिक विवाद चुलिएको छ ।
त्यसभित्रका नेताहरू गुट उपगुटमा बाँडिएका छन् । यस्तै अवस्था रह्यो भने पार्टी विभाजन पनि हुन सक्छ । त्यसमा रहेका असन्तुष्ट नेतालाई लोसपामा भित्र्याउने दाउमा सो पार्टीका नेताहरू छन् ।
अहिले लोसपाले आफ्नो सङ्गठन विस्तार गर्नुको कारण पनि त्यही हो। पार्टीको पुराना समायोजनका कामहरू अझै बाँकी छ । पार्टीभित्र कार्यकारिणी समितिबाहेक अरू कुनै समिति वा सङ्गठन बनेको छैन । सबै भातृ संगठन बन्न बाँकी नै छन् ।
पार्टीको केन्द्रीय समिति, राजनीतिक समिति, सल्लाहकार समितिलगायत विभिन्न निकायहरू अझै बनेको छैन । यी सबै नबन्नुको पछाडि लोसपाको आन्तरिक विवाद पनि हो । साथसाथै, जसपा भित्रको विवादको पर्खाइ पनि हो ।
एक चरण चुनावको समयमा पनि जसपाबाट धेरै नेताहरूको बहिर्गमन हुने बुझाई लोसपाका नेताहरूको छ ।सत्ता गठबन्धनका कारण टिकट पाउने सम्भावना जसपाबाट धेरै कमलाई हुन्छ । त्यसबाट असन्तुष्टलाई काखी च्याप्ने दाउमा लोसपा रहेको छ ।




