संकलखबर । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका छन् ।
शुक्रवार आफ्नो सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सचिव विष्टले सत्ता गठबन्धन संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन भएको आरोप लगाएका हुन् ।
निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको उनको भनाइ छ ।
उनले भनेका छन्, आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन ।




