संकल्पखबर । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा निर्वाचनमा विजयी भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई बधाई दिएको छ ।
बिहीबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी विजयी उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिएका हुन् ।
विज्ञप्तिमार्फत अध्यक्ष केसीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई समेत धन्यवाद दिएका छन् ।
देशमा प्रतिगमनको खतरा कायमै रहेका बेला पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने र त्यसो गर्न सकेमात्र प्रतिगमनलाई परास्त गर्न सहयोग पुग्ने आफनो मान्यता आफ्नो दलले अघि सारेको र यो निर्वाचनको परिणामले त्यसलाई सही सावित गरेको समेत जनमोर्चाले दाबी गरेको छ ।
यो निर्वाचनमार्फत एमालेको पराजयले गठबन्धनका उम्मेदवार विजयी हुनुका साथै प्रतिगमनलाई परास्त गर्न तथा गणतन्त्रको रक्षाको संघर्षलाई समेत सहयोग पुगेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं ।’
अहिलेको निर्वाचनमा देखिएको परिणामलाई सामान्य अवस्थामा चुनाव हुने हार वा जितका रुपमा मात्र हेर्न नहुने जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘२०६२ र ६३ सालका उपलब्धिहरुलाई समाप्त गर्नका लागि बेग्लाबेग्लै धाराबाट प्रयास भइरहेको छ ।
एकातिर राजावादी शक्तिहरुले गणतन्त्रलाई समाप्त गर्नका लागि प्रयत्न गरिरहेका छन् ।
बुधवार राष्ट्रियसभा सदस्यका लागि भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको थियो ।




