संकल्पखबर । नेकपा माओवादीका महासचिव दाबेदार नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनै जना बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको छ।
वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढ्दै गएमा प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन सक्ने चर्चा भएको छ।
चीनबाट उपचार गराएर फर्किएका वर्षमान पुनको स्वास्थ्य स्थिति बुझ्न भन्दै देव गुरुङ पत्नी यशोदा सुवेदीसहित खुमलटारस्थित पुनको निवासमा पुगेका थिए।
गुरुङले केही बेर पुनसँग पार्टीको आन्तरिक स्थितिका बारेमा छलफल गरेको पुनको सचिवालयले बतायो ।
पुनलाई भेटेर गुरुङ दम्पति बाहिरिनासाथ अर्थमन्त्री जनार्दन शर्मा पुष्पगुच्छा लिएर पुनलाई भेट्न पुगेका थिए।
उनीहरु दुबैले महासचिवको दाबीका विषयमा समेत कुराकानी गरेको स्रोतले बतायो।
केहीबेरको कुराकानीपछि शर्मा पुनको स्वास्थ्यलाभको कामना गरेर बाहिरिएका थिए।
त्यसैगरी अर्का नेता हितमान शाक्यले पनि पुनसँग भेटवार्ता गरेका छन्।
जण्डिसको उपचारपछि आराम गरिरहेका पुनलाई माओवादीका नेताहरुले निवासमा गएर भेट्ने, स्वास्थ्यलाभको कामना गर्ने र महासचिवको दाबीका विषयमा समेत कुराकानी गर्ने क्रम बढेको छ।
पुन चीनबाट फर्कंदा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने उनलाई त्रिभुवन विमानस्थलमै गएर भेट गरेका थिए।
माओवादीको महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिव लगायतका पदाधिकारी चयन गर्न सकेको छैन।
वर्षमान पुन र जनार्दन शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनेपर्ने, नभए प्रतिस्पर्धामै उत्रने बताउँदै आएका छन्।
उता गुरुङले चाहिँ आफूलाई सहमतिको महासचिव बन्न अध्यक्षले प्रस्ताव गरेको दाबी गर्दै आएका छन्।
माओवादी केन्द्रले महासचिव छान्नका लागि माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।




