संकल्पखबर। वाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जनप्रतिनिधिहरूले पार्टीको विपरीत रहेर राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
वाग्मतीमा राप्रपाका तर्फबाट दुई प्रदेशसभा सदस्य र दुईजना स्थानीय तहका जनप्रतिनिधि रहेका छन्।
बुधबार आफूहरू हेटौँडा पुगेर मतदान गरेको प्रदेशसभा सदस्य रीता माझीले जानकारी दिइन्।
पार्टीको मंगलबार बसेको पदाधिकारीरूको बैठक बसेर प्रदेश नम्बर–१ बाहेकका प्रदेशहरूमा निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो।
महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचन प्रक्रियामा भाग नलिन निर्देशन दिएका थिए।
तर, पार्टी निर्णयविपरीत वाग्मती प्रदेशमा उनीहरू निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।
प्रदेशसभा सदस्य माझीका अनुसार बुधबार बिहान केन्द्रीय नेताहरूले मतदान प्रक्रियामा भाग लिनू भनेर मौखिक निर्देशन दिएपछि उनीहरू मतदानस्थलमा पुगेका हुन्।
“पार्टीको निर्देशन आएर हामी गएका हौँ, हामी आफ्नो निर्णयले पनि गएका हैनौँ,” उनले बाह्रखरीसँग भनिन्, “हामी चारैजनाले मतदान गरेका छौँ ।”




