काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो ।
आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आइतबार २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।
उमेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उमेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आकांक्षी धेरै
खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।
त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ ।
माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।





