काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको नेतृत्वका बारेमा रस्साकस्सी भइरहँदा उनीहरुको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आइरहेको छ । यी प्रतिनिधिहरुको परिणाम सार्वजनिक भएसँगै सभापतिमा उठ्ने तयारी गरिरहेका नेताहरुको जोडघटाउ पनि सुरु भएको छ । यो प्रारम्भिक जोडघटाउमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा पक्षका जिल्ला जिल्लाका नेता कार्यकर्ताहरु हौसिएका बताइएको छ ।
केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार बुधबार बिहानसम्म करिब ८० निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । यसमा सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्ररम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् । देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौंमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि छानिएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका रहेका छन् ।
त्यसैगरी मकवानपुरमा पनि ७० प्रतिशतको हाराहारीमा आफ्नो पक्ष निर्वाचित भएको दाबी गरिरहेको देउवा सचिवालयले झापामा कृष्णप्रसाद सिटौला पक्षसँग नमिल्दा पनि ३० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षको निर्वाचित भएको जनाएको छ । पाल्पामा भने अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापनइतर पक्षका निर्वाचित भएको बताइन्छ । कांग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन् ।
संस्थापनइतर पक्षबाट एकमात्र साझा उम्मेदवार बन्न सकेको छैन । देउवा पक्षका प्रतिनिधिहरु धेरै आएपछि यस पटक पनि नेतृत्व पुनः देउवाको हातमा जाने निश्चित जस्तो देखिएको छ । यो पछिल्लो परिणामपछि महामन्त्री डा. शशांक कोइरालाले ‘आसन्न महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिका लागि एकमात्र उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ’ भनेका छन् ।
संस्थापनइतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइरालाका साथै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एकले अर्कोलाई स्वीकार्न नसक्दा एकमात्र साझा उम्मेदवार तय हुन सकेको छैन । र यो समूहका यी नेताहरुले पनि एक अर्कालाई स्वीकार्ने अवस्था पनि देखिएको छैन ।




