काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि भन्दै आज बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटरमा आज बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएका हन् ।ु प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बैठकमा बोलाइएको छ ।
बिहीबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले) ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ । खासगरी आजको बैठक सोही अवरोध हटाउन केन्द्रित हुने बताइएको छ । तर आज प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने भने निश्चित छैन ।
यसअघि सभामुखले संसद्को गतिरोध हटाउन भनेर सर्वदलीय बैठक बोलाएका थिए तर त्यसमा नेकपा एमाले उपस्थित भएको थिएन । त्यसअघि केपी शर्मा ओेलीको कार्यकालमा बोलाइएका सर्वदलीय बैठकहरुमा पनि नेपाली कांग्रेसले बहिस्कार गरेको थियोे । त्यसैले इख पाल्न खप्पिस ओलीले आजको बैठक पनि बहिस्कार गर्न सक्छन् ।
उता आजको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल उपस्थित नहुने भएका छन् । भाइरल ज्वरोका कारण उनी हिजो नै शिक्षण अस्पताल भर्ना भएर बसेका छन् । एक अर्काको मुखै हेर्न नचाहने ओलीले नेपालको अनुपस्थितिमा भने सर्वदलीय बैठकमा जान सक्ने आँकलन गरिएको छ । यद्यपी बैठकमा जाने नजानेबारे बिहिबार बिहानसम्म आधिकारिक धारणा आएको छैन ।




