काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले पालिका र प्रदेश क्षेत्रीय अधिवेशन भइरहेको छ । ६४ जिल्लामा वडा तहको अधिवेशन सकिसकेको छ । ६२ जिल्लामा पालिका तहको अधिवेशन भएको छ । रोकिएमा धमाधम हुँदैछ । आगामी असोज १६ गते २१ जिल्लामा क्षेत्रीय अधिवेशन हुँदैछ ।
तर, अहिलेसम्म आएको पालिका तहको परिणामले संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रदेश १ का धेरै स्थानीय तह भएका जिल्ला, बागमती प्रदेशका चितवन र धादिङबाहेक अन्य जिल्ला, कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा देउवा पक्ष नेतृत्वमा आएको छ ।
वडा र पालिका तहपछि हुने क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्ने हो । तर, अहिलेसम्मको स्थिति हेर्दा महाधिवेशन प्रतिनिधि पनि देउवा पक्षकै बढी आउने संकेत देखिएको छ । कांग्रेस नेताहरूका अनुसार पालिका अधिवेशनहरूमा देउवा पक्षको बर्चस्व देखिएकाले महाधिवेशनमा पहिलो राउन्डै ६० प्रतिशत मत ल्याएर सभापति बन्ने देउवाको तयारी छ । उनको खेमाबाट सभापतिका आकांक्षी अरु कोही नदेखिएकाले पनि देउवालाई सहज छ । कांग्रेसको सभापति बन्न पहिलो राउन्डमा ५१ प्रतिशत ल्याउनै पर्ने हुन्छ । यदि आएन भने दोस्रो राउन्डमा गएर निर्णय हुन्छ ।




