काठमाडौं । विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह एउटै खेमामा थिए । तर, पछि कांग्रेस प्रजातान्त्रिक छाडेर सिंह कांग्रेसमै फर्के र कोइराला गुटमा सामेल भए । सिंह अहिले रामचन्द्र पौडेल समूहमा छन् । उनकै निवास चाक्सीबारीमा पौडेल समूहको भेला भइरहन्छ । तर, केही दिनयता सिंहको टोन फेरिएको छ ।
सिंहले १४औं महाधिवेशनमा आफू कुनै पनि हालतमा सभापतिमा उठ्ने बताउन थालेका छन् । त्यसैले उनले मिडिया क्याम्पेनिङ पनि सुरु गरिसकेका छन् । जसकारण नेता पौडेल तनावमा परेका छन् । पौडेलले आफूलाई सभापतिको उम्मेदवारका रूपमा अघि बढाइरहेका छन् । तर, उनलाई आफ्ना भन्ने नेताले नै साथ छाड्दै गएका छन् । पछिल्लो समय नेता सिंह र सभापति देउवाबीच सम्बन्ध सुधार हुँदै गएको छ ।
सिंहको बालुवाटार आउजाउ बाक्लिएको छ । शुक्रबार पनि सिंह बालुवाटार पुगेका थिए । सभापति देउवाले नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीलगायतसँग छलफल गर्नुअघि नेता सिंहसँग दुई घन्टा ‘गोप्य’ भेटवार्ता भएको स्रोतले बताएको छ । १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण पनि तीव्र परिवर्तन भइरहेको छ । अहिलेको समीकरण फेरबदल हेर्दा १३औं महाधिवेशनमा जो जहाँ थिए, त्यसमा धेरै यताउता हुने देखिएको छ ।
महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । अब नेता सिंहले पनि पौडेललाई छाड्ने संकेत देखिएको छ ।




