काठमाडौं । बिहिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आज बस्दै छ।
बिहिबारको बैठकमा छलफल बाँकी रहेकाले आज पनि बैठक राखिएको हो। बिहिबारको बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ ।
काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए ।
नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ । उनका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राख्नुभएको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए । त्यसपछि केन्द्रीय सदस्यबाट भनाइ राख्ने क्रम जारी छ ।
यसअघि पार्टीको संस्थापन पक्षले स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो ।




