काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रिय सभा सदस्यका लागि सोमबार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए ।
उपनिर्वाचनमा दुईजनाको उम्मेद्वारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतका विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेद्वार छन् ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ ।
आजको निर्वाचनमा कुल मतदाता तीन सय छन्। जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी दुई सय १७ मतदाता छन् ।
जसपाका चार प्रदेश सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो । उनीहरूलाई आयोगले आइतबार अबेर मताधिकार दिएको हो ।




